काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हप्तैपिच्छे काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनु पर्यो भनेर खबर पठाइरहने गरेको खुलासा गरेका छन् ।
कीर्तिपुरको उपनिर्वाचनको प्रचारप्रसारको अन्तिम सभामा सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरु यो गठबन्धनलाई २०८४ सम्म लिएर जाने पक्षमा रहेको स्पष्ट पारे । उनले कांग्रेस प्रधानमन्त्रीको आकांक्षाभन्दा स्थिर सरकारका पक्षमा रहेको बताए ।
“प्रचण्डले हप्तामा एकपटक लौन सरकारको नेतृत्व गर्नुस् भनेर खबर पठाउनु हुन्छ । पहिला अरुले पठाउँथ्यो,” महामन्त्री थापाले भने, “कांग्रेस संसद्को पहिलो पार्टी हो । प्रधानमन्त्री बन्न कांग्रेसलाई गाह्रो छैन । तर, हामीलाई प्रधानमन्त्री होइन स्थिर सरकार चाहिएको हो ।”
महामन्त्री थापाले कांग्रेसको लडाइँ केपी ओली, प्रचण्ड वा अरु कुनै नयाँसँग नभएको बताए । उनले कांग्रेस प्रधानमन्त्रीको प्रधानमन्त्री बन्न नसक्ने भएकाले हिजो प्रचण्ड र आज ओलीलाई प्रधानमन्त्री बनाएर नहिँडेको बताए ।