९ पुस २०८१, मंगलबार

प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्ने रास्वपाका नेता–कार्यकर्ता पक्राउ


प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजी गर्ने रास्वपाका नेता–कार्यकर्ता पक्राउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका रास्वपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि रिहाइ माग गर्दै रास्वपाले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । गत कात्तिक २ गते लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

रास्वपाले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले सभापतिलाई पक्राउ गरेको जिकिर गर्दै आएको छ । दिउँसो १२ बजे तय भएको प्रदर्शनअघि नै बालुवाटार पुगेका एक दर्जन जति नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई नियन्त्रणमा लिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !