१० कार्तिक २०८१, शनिबार

सडक र सदनबाट सशक्त आन्दोलन गर्ने प्रचण्डको चेतावनी


अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलले उठाएका मागलाई सरकारले गम्भीरतापूर्वक नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले आज शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै त्यसलाई बेवास्ता गरे सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

वर्तमान सरकार सुशासनका विरुद्ध बनेको, आफ्नै पार्टीलाई समेत ढाँटेर बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आज सय दिन पुग्दा नपुग्दै आफूहरूले गरेको आशंका सरकार आफैंले पुष्टि गरेको बताए । आफूहरूले खबरदारीसभा राख्ने वित्तिकै सत्तारुढ दललाई एक ठाउँमा ल्याएर सडकबाट सरकारको विकल्प खोज्न थालिएको भन्दै होहल्ला गरिएको उनले बताए ।

उनले माओवादीलाई सरकारको चिन्ता नभएको उल्लेख गर्दै बरु आफूहरूले दलाल र पूँजीवादी दलहरूसँग सहकार्य गरेर गल्ती गरेको महसुस गरेको बताए । भ्रष्ट र जाली नेताहरूसँग लागेर माओवादीप्रति पनि आशंका उब्जेका बेला सरकार ढालेर आफूहरूलाई सच्चिन मौका दिएको उनले बताए ।

त्यस्तै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै आफूलाई सच्याउन आग्रह गरे । यो देश कांग्रेस एमालेको विर्ता नभएको उल्लेख गर्दै उनले संख्याको प्राविधिक बदलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न समेत चेतावनी दिए ।

उनले संसदीय समितिले कांग्रेस र एमालेका नेताहरूलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए । प्रचण्डले अब कसैसँग गठबन्धन नगरेर एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने स्पष्ट पारे ।

उनले अब उत्पादन वृद्धि गर्दै देशभित्रै लाखौं युवाहरूलाई आत्मनिर्भर बनाउने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध गरेर लैजाने बताए । आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सबालमा ऐतिहासिक रेडर्क बनाएको उल्लेख गर्दै यसलाई कसैले मेटाउन नसक्ने समेत उनले बताए । प्रचण्डले जनताको हक अधिकारका लागि निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !