३ आश्विन २०८१, बिहीबार

लुम्बिनीका मुख्यमन्त्री आचार्य एमाले संसदीय दलको नेता चयन


चेतनारायण आचार्य

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन भएका छन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलको आज बसेको बैठकले यसअघि नै मुख्यमन्त्री बनेका आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

संसदीय दलका नेता रहेका पूर्वमुख्यमन्त्री लीला गिरीले दलको नेताबाट राजीनामा दिएपछि रिक्त रहेको दलको नेता पदमा मुख्यमन्त्री आचार्यलाई चयन गरिएको हो ।

दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णयप्रति असन्तुष्ट गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए ।

मुख्यमन्त्री आचार्यलाई संसदीय दलको नेता चयन गरेको बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष हुन् ।

यसैगरी बैठकले दलको प्रमुख सचेतकमा रुपन्देहीका तुल्सीप्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन गरेको छ । चौधरी यसअघि पनि प्रमुख सचेतक नै रहेका थिए ।

एमाले संसदीय दलको आजको बैठकमा नेता गिरीको पूर्वनिर्धारित कार्यक्रमअनुसार रुपन्देही बाहिर भएकाले बैठकमा सहभागी नभएको गिरीको सचिवालयले जनाएको छ । एमाले दलको बैठकमा एमाले प्रदेश कमिटी इन्चार्ज एमाले सचिव पद्मा अर्याल सहभागी रहेका थिए ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले भदौ ४ गते विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि प्रदेशसभाको बैठक आह्वान भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !