३१ भाद्र २०८१, सोमबार

जनताका नाममा कार्यक्रम राख्न प्रधानमन्त्री ओलीको निर्देशन


प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा कार्यक्रमहरु तय गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आजको बैठकमा मन्त्री, सचिवलगायतलाई निर्देशन दिँदै उनले प्रधानमन्त्रीलगायतका नामको साटो जनताका नाममा कार्यक्रम बनाउन निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

“कार्यक्रमहरु प्रधानमन्त्रीलगायतका ठूला नाममा राख्ने काम भयो, यही सिको गर्दै प्रदेशमा पनि मुख्यमन्त्रीसँग फलानो कार्यक्रम भनेर आएका छन् । यो परिपाटीलाई बदलेर जनतासँग रोजगारजस्ता कार्यक्रम राख्न निर्देशन दिन्छु । नयाँपन दिने गरी काम गर्नुहोस्”, उनले भने ।

प्रधानमन्त्री ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिका लागि सम्पूर्ण समय दिएर काम गर्न निर्देशन पनि दिए । उनले पुँजीगत खर्च बेरुजु नहुने गरी शतप्रतिशत खर्च गर्न, दसौँ राष्ट्रिय खेलकुदलाई भव्य र प्रभावकारी बनाउन आवश्यक प्रस्ताव ल्याउन पनि निर्देशन दिएका थिए ।

बैठकमा उनले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने, बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन र कृषि उपजको निर्यात हुने गरी आधार तय गर्न समेत निर्देशन दिए । “गरिबलाई कानुन देखाएर मात्रै हुँदैन, उनीहरुलाई केन्द्रमा राखेर विकासका कार्यक्रम तय गर्न सकियो भने मात्रै अर्थपूर्ण रहन्छ”, प्रधानमन्त्री ओलीले भने ।

यसअघि आजको बैठकमा प्रधानमन्त्रीले विभिन्न मन्त्रालयका मन्त्रीलगायतलाई निर्देशन दिँदै एक सय दिनभित्र उपलब्धिपूर्ण काम गर्ने गरी कार्यक्रम निर्माण र कार्यान्वयन गर्न निर्देशन दिएका थिए । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरुको सहभागिता थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !