३१ भाद्र २०८१, सोमबार

परराष्ट्रमन्त्री देउवासँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


परराष्ट्रमन्त्री देउवासँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै आर्थिक एवं विकास सहायता तथा आयोजनालगायतका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री डा राणाले नेपाल भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटको उपलब्धताका लागि सचिव मिस्रीमार्फत् भारतसँग कुरा उठाएकी छन् । मन्त्री डा राणाले नेपाल र भारतका सीमा क्षेत्रहुँदै आयात हुने तरकारी तथा फलफूलको गुणस्तर मापनसम्बन्धी परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न भारतको पहलका लागि पनि कुरा उठाएकी छन् ।

सो भेटवार्ताका क्रममा पञ्चेश्वर आयोजनाका बाँकी काम अघि बढाउने बारेमा मन्त्री डा राणाले उठाएको विषयमा यसका धेरैजसो समस्या समाधान भइसकेका र बाँकी प्राविधिक समूहमार्फत अघि बढेर सम्बोधन गरिने विषयमा छलफल भएको थियो ।

त्यसैगरी मन्त्री डा राणाले टनकपुर बाँधको नहरमा पानी छोड्न, बाडगङ्गा, खाँडो र राप्ती नदीको बाढी नियन्त्रण तथा जोखिम कम गर्ने सम्बन्धमा आवश्यक सहायता उपलब्ध गराउने विषयमा सचिव मिस्रीमार्फत् भारत सरकारसँग कुरा उठाउँदै दार्चुलामा महाकाली नदीमा निर्माण गरिएको पक्की पुल उद्घाटनको प्रसङ्ग पनि उठाएकी छन् ।

मन्त्री डा राणाले व्यापार तथा पारवहनसम्बन्धी वार्तालाई निरन्तरता दिनुपर्ने विषयमा पनि कुराकानी गरेकी छन् । उनले जाजरकोट भूकम्पमा परेका पीडितको उद्धार र सहायताका लागि भारत सरकारको सहयोगप्रति धन्यवाद ज्ञापन गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !