१५ पुस २०८१, सोमबार

संसदीय सुनुवाइबाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम अस्वीकृत


कृष्णमान प्रधान

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानको नाम अस्वीकार गरेको हो ।

आजै सोमबार सुनुवाइ समितिको बैठक बस्नुअघि नै प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिएको भन्दै समितिमा निवेदन दिएपछि समितिले सोही निवेदनलाई आधार बनाएर अस्वीकृत गर्ने निर्णय गरेको हो ।

यससघि सत्तारुढ ठूला दुई दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका थिए ।

समितिले यसअघि यही साउन ९ गते निर्वाचन आयुक्तमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानको संसदीय सुनुवाइ गरेको थियो । बैठकमा प्रस्तावित निर्वाचन आयुक्त प्रधानले आफ्नो अनुभव, योग्यता, क्षमतासहितको योजनासम्बन्धी अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

संवैधानिक परिषद्ले गत असार २ गते उनको नाम निर्वाचन आयुक्तमा प्रस्ताव गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद् सचिवालयमा पठाएको थियो । आजको बैठकले प्रधानको नियुक्ति सिफारिससम्बन्धी निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !