२२ भाद्र २०८१, शनिबार

सङ्घीय निजामती ऐन चाँडै पास हुन्छ : मन्त्री गुप्ता


राजकुमार गुप्ता

वीरगञ्ज, पर्सा । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती ऐन संसद्बाट चाँडै पास हुनेमा विश्वास व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले साढे दुई महिनाभित्रै निजामती ऐन सङ्घीय संसद्बाट पारित गर्ने गरी काम भइरहेको दाबी गरे ।

उनी मन्त्री भएसँगै पहिलो पटक गृह जिल्ला आएका हुन् । “मैले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज आठौँ दिन भएको छ । मैले दुई वटा कामलाई उच्च प्राथमिकतामा राखेको छु”, उनले भने, “पहिलो प्राथमिकतामा सङ्घीय निजामती ऐनलाई टुङ्गोमा पुर्याउनेछु ”

मन्त्री गुप्ताले निजामति कर्मचारीको सरुवामा हुने गरेको विकृतिलाई पनि अन्त्य गर्ने गरी नियमावली निर्माणलाई पनि उच्च प्राथमिकतामा राखेको बताए । उनले कर्मचारीको सरुवालाई व्यवस्थित गराउनका लागि नियमावली बनाउन लागेको पनि जानकारी दिए ।

“जहाँ जे जस्तो दरबन्दी छ । सोहीअनुसारका कर्मचारी खट्ने व्यवस्था गर्नेछौँ । यसले जथाभावी कर्मचारी सरुवा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !