२२ भाद्र २०८१, शनिबार

प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने


केपी शर्मा ओली तस्वीर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने सत्तापक्षका मुख्य सचेतक महेश बर्ताैलाले बताए ।

आगामी साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई औपचारिक पत्र पठाएर जानकारी समेत गराएका छन् । पत्र पठाउनुअघि प्रधानमन्त्री ओलीले विश्वासको मत लिनेबारे सभामुख देवराज घिमिरेसँग मौखिक जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा गत असार ३० गते आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले त्यसको भोलिपल्ट गत सोमबार पद तथा गोपनीयताको शपथ लिनुका साथै मन्त्रिपरिषद समेत विस्तार गरेका थिए । ओली सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा पार्टी सहभागी भएका छन् ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमाले संसदीय दलका नेता ओली चौँथो पटक प्रधानमन्त्री भएक हुन् ।

संविधानको धारा ७६ (४) बमोजिम उनले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !