४ मंसिर २०८१, मंगलबार

केपी शर्मा ओली चौथो पटक बने प्रधानमन्त्री


केपी शर्मा ओली तस्वीर सौजन्य : राजन काफ्ले

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । यसअघि तीनपटक प्रधानमन्त्री भइसकेका ओली संसद्को सबभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्री बनेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको पद तथा गोपनीयताको सपथ भोलि बिहान ११ बजे तय भएको छ ।

राष्ट्रपति पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा अपराह्न ५ बजेपछि सकिएपछि ओलीलाई आज देशको नयाँ प्रधानमन्त्री नियुक्ति गरेका हुन् । राष्ट्रपतिको आह्वानअनुसार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका थिए । ओली २०७२ सालमा संविधान जारी भएपछि पहिलोपटक २०७२ असोज २५ गते, दोस्रोपटक २०७४ फागुन ३ गते र तेस्रोपटक २०७८ वैशाख ३० गते प्रधानमन्त्री बनेका थिए ।

आज चौथोपटक देशको प्रधानमन्त्री बनेका ओलीले लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा चार दशकदेखि सक्रिय ओली देशको ४५औं प्रधानमन्त्री बानेका हुन् ।

ओली स्पष्ट अडान राख्ने र दृष्टिकोणमा अडिग रहने नेताका रूपमा चिनिन्छन् । उनको गतिशील एवं सबल नेतृत्वमा पार्टी पनि यही देष्टिकोणका साथ अघि बढेको छ । ओलीको राजनीतिक उदय झापा आन्दोलनको सिर्जना र कठोर भूमिगत सङ्घर्षबाट भएको हो ।

राजतन्त्रात्मक पञ्चायती शासन व्यवस्थाको विरोधसहित देशभक्ति, लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाज र जनजागरणका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उनको नेतृत्वदायी भूमिका रहँदै आएको छ ।

लोकतान्त्रिक आन्दोलनका क्रममा १४ वर्षभन्दा बढी जेलनेल भोगेका वाकपटुतायुक्त ओलीले विगत तीन वर्ष शासन सञ्चालन गर्दा विकास र समृद्धिका लागि सुरु गरेका तर अधुरो रहेका काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !