२२ भाद्र २०८१, शनिबार

राष्ट्रपति पौडेलद्वारा एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त


प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीद्वारा दावी पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज बेलुकी एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिएकी हुन् । नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण भोलि बिहान ११ बजे तय भएको छ ।

राष्ट्रपति पौडेलले शुक्रबार राति नयाँ सरकार गठनका लागि आज आइतबार बेलुका ५ बजेसम्म दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेस गर्न आह्वान गरेपछि संसदका ठूला दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति पौडेलसमक्ष दाबी पेश गरेका थिए ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम काँग्रेसका ८८ जना र एमालेका ७८ जना गरी १६६ जना संसदको समर्थनमा एमाले अध्यक्ष ओलीले राष्ट्रपति पौडेलसमक्ष आफूलाई प्रधानमन्त्री नियुक्त गर्न दावी पेश गरेका थिए ।

राष्ट्रपति पौडेलले कानुनविद्हरूसँग परामर्श गरेपछि नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेस र एमालेसहितको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार शुक्रबार ढलेको थियो । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएसंगै प्रचण्ड नेतृत्वको सरकार ढलेको थियो ।

यस्तो छ हेर्नुहोस् राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !