२ कार्तिक २०८१, शुक्रबार

संसदले दिएन विश्वासको मत, प्रधानमन्त्री प्रचण्ड पदमुक्त


प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव शुक्रबार प्रतिनिधिसभामा बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संघीय संसदको प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेका हुन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।

आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावको पक्षमा ६३ मत पर्‍यो भने प्रस्तावको विपक्षमा १९४ मत परेको छ । बैठकमा उपस्थित २५८ सांसदमध्ये १ जना तटस्थ बसे ।

मतदानमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसदको गरी जम्मा ६३ मत परेको थियो भने विपक्षमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्टीलगायत दलका गरी १९४ मत खसेको थियो । मतदानमा एक सदस्य तटस्थ रहेका हुन् ।

प्रधानमन्त्री प्रचण्डद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावमाथि बैठकमा भएको मतदानको परिणाम घोषणा गर्दै सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा परेको ६३ मत सभामा तत्काल कायम रहेको सङ्ख्याको बहुमतले सो प्रस्ताव अस्वीकृत भएको जानकारी गराए ।

प्रधानमन्त्रीको विश्वासको मत अस्वीकृत भएसँगै संविधानबमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । यसअघि एमालेसहितका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहाल संसद्को आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !