काठमाडौँ । राजीनामा बोकेर बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित शीर्ष नेताहरुको मन एकाएक बदलिएको छ ।
मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेपछि राजीनामा नदिई फर्किएका हुन् । प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
प्रधानमन्त्रीसँगको भेटपछि पत्रकारसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक परियारले प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेल पर्खिन आग्रह गरेको बताए । प्रधानमन्त्रीको अनुरोध ठिकै लागेर आफूहरुले राजीनामा नदिई फर्किएको र चाँडो संसदको प्रक्रियामा जान सुझाव दिएको उनले बताए ।
प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छु भन्दा त्यतिन्जेलसम्म आफूहरुले साथ दिने बताएको उनको भनाइ छ । गत मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले मन्त्रीहरुले राजीनामा दिने निर्णय गर्नुका साथै नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको थियो ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सभापति रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री रहेका थिए ।