२० असार २०८१, बिहिबार

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी नियुक्त


सुरेश अधिकारी

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन् । आज मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएकी हुन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष हिजो सिफारिस गरेका थिए ।

सभामुख घिमिरेले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ गतेदेखि सो पद रिक्त थियो । अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र अवकाश पाएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !