३ मंसिर २०८१, सोमबार

बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा


बालुवाटार पुगेर एमालेका मन्त्रीहरूले दिए सामूहिक राजीनामा

काठमाडौं । नेकपा (एमाले) का मन्त्रीहरूले पदबाट सामूहिक राजीनामा दिएका छन् । आज बुधबार साँझ उनीहरूले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएका एमालेका आठ जना मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि एमालेका मन्त्रीहरु राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

यसअघि हिजो मंगलबार एमालेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न आजसम्मको समयसीमा दिएकोमा प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूलाई सरकारबाट बोलाएको हो ।

सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठुला दल काँग्रेस र एमालेबीच सहमति भएको थियो । काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार सुरुमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् । दोस्रो चरणमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

यता प्रधानमन्त्री प्रचण्डले भने प्रधानमन्त्री पदबाट राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !