१९ असार २०८१, बुधबार

प्रतिनिधिसभाको सचिवमा सुरेश अधिकारी सिफारिस


सुरेश अधिकारी

काठमाडौँ । प्रतिनिधिसभाको सचिव पदमा सुरेश अधिकारी सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज सिफारिस गरेका हुन् ।

सभामुख घिमिरेले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा १०६ तथा संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३ बमोजिम सङ्खुवासभा जिल्ला खाँदवारी नगरपालिका वार्ड नम्बर २ निवासी अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ गतेदेखि सो पद रिक्त थियो । अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट केही समयअघि मात्र अवकाश पाएका थिए ।

संखुवासभामा जन्मिएका अधिकारीले राजनीतिशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेका छन् । शिक्षा सचिवबाट अवकाश हुनुअघि अधिकारी पर्यटन मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र अख्तियारमा सचिव रहेर काम गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !