१२ आश्विन २०८१, शनिबार

परिवर्तनका पक्षमा खुलेर बोल्न र लेख्न बुद्धिजीवीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेले देश र जनतालाई माया नगर्ने बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताएका प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन रहँदैन प्रधानमन्त्री दाहालले भने ‘इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नुपर्दैैन ।’

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डो¥याउने भन्ने सवालमा बुद्धिजीवी निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । उनले भने ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीको सक्रियता थियो, आज पनि उत्तिकै छ ।’

क्रान्तिपछि भएका महत्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री दाहालले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह रहेको बताए ।

बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्‍याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ-आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्छ भने । उनले बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ सङ्कल्पित भएर लागेको स्पष्ट पारे ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्लेले शान्ति प्रक्रियाको हस्ताक्षरकर्तामध्येका एक नेता प्रधानमन्त्री रहेको वर्तमान अवस्थामा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन विशेष पहल लिनुपर्ने सुझाव दिए । आन्तरिक कमजोरीका बाबजुत नेपाली कांग्रेस ऐतिहासिक र सैद्धान्तिकरुपमा प्रजातान्त्रिक संस्था रहेको उल्लेख गर्दै वाग्लेले मुलुकमा भरपर्दो अर्को प्रजातान्त्रिक संस्थाको आवश्यकता औँल्याए ।

“यो मुलुकमा प्रजातान्त्रिक संस्थाको नाम र कामका हिसाबले आवश्यक छ, अहिलेको सन्दर्भमा त्यो आवश्यकता कसैले सम्बोधन गर्नसक्छ भने त्यो वर्तमान प्रधानमन्त्री नै हो”, उनले भने । सङ्गठनका पूर्वअध्यक्ष नरेश भण्डारीले जनतामा अग्रगामी चेतनाको बिज रोप्न बुद्धिजीवीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै राजनीतिक परिवर्तनमा बुद्धिजीवी सङ्गठनले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताए । कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धिजीवी सङ्गठनका पूर्वअध्यक्ष भण्डारी तथा सङ्गठनका पूर्वअध्यक्ष एवं फ्रयाक्सन इञ्चार्ज डा खिमलाल देवकोटालाई सम्मान गरेक थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !