१२ असार २०८१, बुधबार

राजेन्द्र लिङदेनले रोष्ट्रममै च्याते भौतिक मन्त्रालयको बजेट पुस्तिका


राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् । आज बसेको सदनको बैठकमा बजेटले विभेद गरेको भन्दै सदनको रोष्टममै पुस्तिका च्यातेका हुन् ।

उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए । पुस्तिका च्यातेर फाल्ने मन भए पनि संसदीय मर्यादाविपरीत हुने भएकाले आफूले नफाल्ने बताए ।

अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्रबाहेकका प्रतिनिधिसभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताए । लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए ।

सांसद लिङ्देनले सामान्य लाजघिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो भन्दै प्रश्न गरे । बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखी पनि बजेट व्यवस्था गरिएको बताए ।

लिङ्देनले यसो भनिरहँदा कांग्रेस सांसदहरूले समेत टेबल ठोकेर समर्थन गरेका छन् । मन्त्रीको गोजीबाट निस्कने चिर्कटोबाट योजना पर्ने प्रवृत्तिले वर्तमान व्यवस्था माथि नै संकट पैदा गर्दै लगेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !