२३ भाद्र २०८१, आइतबार

सभामुख घिमिरेसँग युएईका राजदूतको शिष्टाचार भेट


देवराज घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग बुधबार बिहान संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले शिष्टाचार भेट गरेका छन् ।

भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत सम्बन्ध रही आएकोमा सन्तुष्टि व्यक्त गरे । उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तन लगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई दिए । ‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दुरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उनले भने ।

सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरुको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन अपिल गरे । युएईमा मात्रै करिव ४ लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।

सभामुखले हालै काठमाडौंमासम्पन्न तेस्रो नेपाल लगानी शिखर सम्मेलनमा सहभागी भएकोमा युएईलाई धन्यवाद व्यक्त गरे । उनले नेपालबाट अलैंची, चिया लगायतका कृषिजन्य उत्पादन निर्यातको प्रचुर सम्भावना रहेको बताउँदै आवश्यक सहजिकरणको अपिल गरे ।

युएईका राजदूत अलसाम्सीलेयुएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराए । उनले गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उल्लेख गरे ।

अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसदको भूमिका अपेक्षित रहेको बताए । उनले युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने समेत उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !