१३ असार २०८१, बिहिबार

राष्ट्रपति पौडेल दोहाबाट जेनेभा प्रस्थान


रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुने सिलसिलामा आज बिहान कतारको राजधानी दोहाबाट त्यसतर्फ प्रस्थान गरेका छन् ।

मंगलबार राति दोहा पुगेको राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डललाई हमाद इन्टरनेसनल विमानस्थलमा कतारका लागि नेपालका राजदूत नरेशविक्रम ढकाल, कतारी विदेश मन्त्रालय र नेपाली राजदूतावासका कर्मचारीले बिदाइ गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यसअघि सोही टोलीले राष्ट्रपतिलाई स्वागत गरेको थियो ।

राष्ट्रपति पौडेलले आज स्विस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भोलि बिहीबार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्। भोलि नै राष्ट्रपति पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट बर्लिनतर्फ प्रस्थान गर्नेछन् । संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टाइनमायेरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जान लागेका उनले असार ३ गते आफ्ना जर्मन समकक्षीसँग औपचारिक वार्ता गर्नेछन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोस्टडाम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो–साइन्स, टेलेग्राफफेनबर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ। साथै, सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

असार २ गते गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपालीलाई सम्बोधन गर्नेछन् । त्यसैगरी राष्ट्रपतिले असार ३ गते जर्मनी ‘ट्रेड एन्ड इन्भेस्ट’मा आबद्ध उद्योगी–व्यापारीसँग भेट गर्ने कार्यक्रम छ । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्किनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !