१४ असार २०८१, शुक्रबार

प्रतिनिधिसभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय गरिएको छ । प्रतिनिधिसभाको आज र भोलि बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

आज बिहान सभामुख निवास बालुवाटारमा बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो । आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो ।

बैठक २ दिन स्थगित गरिएसंगै अब २९ गतेदेखि प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि नियमित छलफल हुने बताइएको छ ।

विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही उपस्थित थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !