२३ भाद्र २०८१, आइतबार

संसद्लाई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रचुर सम्भावना बोकेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी देश विकास गर्न सकिने बताएका छन्।

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागको प्रकाशन ‘नेपालमा पर्यटन अवस्था, चुनौती र सम्भावना’ नामक पुस्तकको यहाँ लोकार्पण गर्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथामात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रसमेत नेपाल भएको हुँदा पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना रहेको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “देवभूमि, ज्ञानभूमि, बुद्धजन्म भूमि र तपभूमिका रूपमा रहेको नेपालमा पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना छ । राम जन्मभूमिसमेत चितवनमा पर्छ, बुद्धिजमको विकास यहीँ भएको हो । हिन्दू र बुद्ध धर्मको प्रवर्द्धन पनि यहीँबाट भएको छ ।”

विश्वमै शल्यक्रिया गर्ने पहिलो अभ्यास नेपालमै भएको धार्मिक ऐतिहासिक घटनाले पुष्टि गरेको बताउँदै उनले ऋषि, महर्षिका ध्यान र तपस्या गर्ने स्थानका रूपमा समेत नेपाल रहेको उल्लेख गरे । यिनै सम्भावनाहरूको विकास र प्रवर्द्धन गर्दै देशको राजनीतिलाई सुन्दर र स्वास्थ्य तुल्याउँदै जनताका समस्या हटाउने अभियानमा सरिक हुन आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालमा पर्यटनको अवस्था चिन्न, चुनौती बुझ्न र प्रवर्द्धन गर्न पुस्तकले मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मुलुकमा अहिले जस्तो अवस्था छ, त्यसप्रति कसैलाई चित्त बुझेको छैन, चित्त बुझेन भनेर खुम्चिएर बस्ने वा विदेश पलायन हुने होइन । विचलित नभई सकारात्मक सोचले काम गर्नुपर्छ, देश बनाउन सकिन्छ, त्यो सम्भव छ । अर्काको देश आश्रय हुन सक्दैन । यस कार्यमा पुस्तकले पनि मार्गनिर्देश गर्ने अपेक्षा गरेको छु ।”

आफूहरू शान्तिपूर्ण र न्यायपूर्ण समाज बनाउन प्रयासरहत रहेको बताउँदै अध्यक्ष ओलीले संसद्लाई गालीगलौज गर्ने थलोका रूपमा नभई समृद्धिका लागि बहस गर्ने ठाउँ बनाउन जरुरी रहेको विचार प्रकट गरे ।

कार्यक्रममा उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले समाजवाद भनेको गरिबी नभई समृद्धि ल्याउने र सम्पन्नता बढ्ने आर्थिक ‘रोडम्याप’ भएको बताए । पूर्वअर्थमन्त्री पाण्डेले भने, “उद्योगी र व्यवसायीसँग पैसा लिने अनि उसैलाई दुत्कार्ने कार्यले उद्योगधन्दा चौपट भएको छ, कमाई गर्ने कार्यमा जोकोही पनि हिम्मतसँग लाग्नुस् । राज्यलाई कर तिर्नुस्, पैसा कमाउनुस् । काम गरेर खाने संस्कृतिलाई सबैले सम्मान गर्नुपर्छ ।”

नेकपा (एमाले) पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयन विभागका प्रमुख भीमप्रसाद आचार्यले पर्यटन क्षेत्रको विकास र विस्तारमा लगानी गर्ने तथा जोखिम मोलेर काम गर्नेलाई प्रोत्साहन गर्ने पार्टीको नीति रहेको बताए । उनले भने, “पर्यटन क्षेत्रमा रहेको समस्या बुझ्न प्रकाशन भएको पुस्तकबाट ठूलो ज्ञान प्राप्त गर्न सकिने छ । पार्टीकोे नीतिअनुरुप पर्यटन प्रवर्द्धनका विविध विधामा कार्यरत व्यक्तिलाई सम्मान गरिएको छ ।”

त्यस अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रमा विभिन्न विधामा रही उल्लेख्य योगदान पुर्याउने दुई सय ५० भन्दा बढी व्यक्तिलाई सम्मान र प्रशंसापत्र प्रदान गरियो । पुस्तकमा नेपालको पर्यटन प्रवर्द्धनका क्षेत्रसँग जोडिएका १८ विधाका ६७ वटा लेख समावेश छन् ।

नेपालको कृषि, पर्यटन, यात्रा, सहासिक खेल, हावापानी, स्वास्थ्य, जमिनसमेत कुनै न कुनै रूपले पर्यटनसँग जोडिएकाबारे पुस्तकमा उल्लेख छ । आठ सय ३८ पृष्ठ सङ्ख्या भएको उक्त कृतिको प्रधानसम्पादकमा विभागका प्रमुख आचार्य हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !