१८ असार २०८१, मंगलबार

प्रतिनिधिसभा शून्य समय : मनसुनजन्य विपद् व्यवस्थापनमा लाग्न सुझाव


रघुजी पन्त

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले आसन्न मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिको आकलन गरी न्यूनीकरण र रोकथामका योजनालाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न माग गरेका छन् ।

बैठकमा नेपाल कम्युनिष्ट (एमाले) का रघुजी पन्तले बाढी र पहिरोबाट हुन सक्ने क्षतिको प्रक्षेपण सार्वजनिक भसकेकाले त्यसको रोकथामको योजना बनाएर कार्यान्वयन गर्न माग गरे ।

सोही दलका मानवीर राईले सोलुखुम्बुमा बाढी, पहिरो र हिमपहिरोको जोखिम भएकाले रोकथामको पूर्वतयारीमा जुट्न सम्बद्ध निकायलाई आग्रह गरे । नेकपा एमालेकै मनबहादुर गुरुङले हुरी र वर्षाबाट कास्कीको रुपा गाउँमा भएको क्षति भएको र पीडितलाई सघाउन सरकारको ध्यानाकर्षण गराए ।

सोही दलका भीम आचार्यले सुनसरीको इनरुवा हुँदै भण्टाबारी जाने रेलमार्गका लागि तोकिएको मुअब्जा नपाउँदा स्थानीयवासी प्रभावित भएका बताए । एमालेकै महेश बर्ताैलाले मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट विनियोजन हुनुपर्ने माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माधव सापकोटाले वर्षायाम सुरु हुन लागेकाले तातोपानी नाका स्तरोन्नतिका लागि चीनसँग भएको सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका रामहरि खतिवडाले मध्यपहाडी राजमार्गको घुर्मी पुल वर्षायाम प्रारम्भ हुनुअघि बनाउन माग गरे । सोही दलका मैना कार्कीले भेरी करिडोरको स्तरोन्नति र पुल निर्माण गर्न विलम्ब भएको बताए । माओवादी केन्द्रका मीना तामाङले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको सहकार्य टुट्न नहुनेमा जोड दिइन्।

एमालेका मेनुकाकुमारी पोखरेलले दाङको आगलागीबाट क्षति भएकाहरुलाई क्षतिपूर्ति दिन माग गरिन् । एमालेकै सांसद रणकुमारी बलम्पाकीले शिक्षक दरबन्दी व्यवस्थापन मिलाउन आग्रह गरिन् ।

नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले गोप्य सूचना बेचेको भनेर उपप्रधानमन्त्री एवं गृहमन्त्रीले संसदमा लगाएको आरोपको पुष्टि हुनुपर्ने माग गरे । सो समयमा मङ्गलप्रसाद गुप्ता, माओवादी केन्द्रका रणेन्द्र बराइली कांग्रेसका रामनाथ अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की, कांग्रेसका राजेन्द्र बजगाईँ र रुपा बिक, एमालेका रुक्मिणी राणा बराइली, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले समसामयिक विषयमा ध्यानाकर्षण गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !