८ पुस २०८१, सोमबार

ओलीलाई बालेनको चेतावनी : गिरीबन्धु काण्ड लुकाउन जनता नझुक्याउनुहोला, जेल जानुपर्ला


बालेन शाह र केपी शर्मा ओली

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनुहोला नत्र जेल जानुपर्ला भनेर चेतावनी दिएका छन् ।

आज सोमबार बिहान साहले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले ओलीलाई जनतामा भ्रम छर्ने कार्य नगर्न आग्रह गर्दै ‘१० हजार करोडकाण्ड’ लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाइएको आरोप लगाएका हुन् ।

उनले झापाको गिरीबन्धु टी–इस्टेटको जग्गामा गर्न खोजिएको नीतिगत घोटालामा ओलीको संलग्नताको आरोप समेत लगाएका हुन् । बालेनले गिरीबन्धुको टि–स्टेटको जग्गा हिनामिना प्रकरणमा ओलीलाई समेत जोड्दै पीडितको बैना फिर्ता गर्न भनेका छन् ।

मेयर शाहले झापाको गिरीबन्धु टी-स्टेटको जग्गामा बैना लिनेहरूलाई दुई वर्षधित्र गिरीबन्धुकै जग्गा दिलाउने भनेर थुमथुम्याएको समेत दाबी गरेका छन् । गिरीबन्धु चिया बगानको जग्गामा भएको नीतिगत भ्रष्टाचारमा ओलीको संलग्नता नहोला भन्न नसकिने बालेनको आशय छ ।

उनले न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथमा फेरि सडक निर्माण थालिएको भन्दै आपत्ति जनाएका हुन् । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो भएको उनले उल्लेख गरेका छन् ।

यस्तो छ बालेनले फेसबुकमा लेखेको स्टाट्स

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !