१७ असार २०८१, सोमबार

उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ : पूर्वअर्थमन्त्री महत


डा. प्रकाशशरण महत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनशील क्षेत्रमा वित्तीय लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक बर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउन नसक्दा मुलुकको आर्थिक वृद्धिमा असर पुग्ने बताएका हुन् ।

“ऋण लिएर उत्पादनशिल खर्च गर्न नसक्दा उत्पादन तथा रोजगारी बढ्दैन र राजस्व पनि बढ्दैन,” उनले भने, “जसले गर्दा राज्यलाई ऋणको भार बढ्दै जाने र ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्था आउने छ ।” आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कनिका छरेजसरी विनियोजन भएको भन्दै महतले आपत्ति जनाए । बजेट पार्टीमुखीभन्दा जनतामुखी हुनुपर्ने र विनियोजित बजेट प्राथमिकीकरणको आधारमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।

महतका अनुसार बजेटको आकार बढे पनि व्यवस्थित रुपमा खर्च गर्न नसके मुलुकको आर्थिक विकास हुन सक्दैन । “वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा खर्च गर्न नसक्दा प्रतिफल आउन सकिरहेको छैन र यसले रोजगारी सिर्जना भएको छैन,” उनले भने, “आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेट प्राथमिकीकरण गरिएको छैन । आवश्यकताको आधारमा विनियोजन भएन ।”

उद्योग वाणिज्य मन्त्रालयको बजेट कम भएको भन्दै लगानीलाई उत्पादनमुखी बनाउनुका सट्टा अनुउत्पादनशील क्षेत्रमा खर्च हुने गरी विनियोजन भएको उनको टिप्पणी छ । महतले वित्तीय स्रोत जुटाउने र खर्च गर्ने विषयमा ख्याल गर्नुपर्नेमा जोड दिए । “आगामी आर्थिक वर्षको बजेटले कङ्क्रिट दिशा पत्ता लगाउन सकेको छैन,” उनले भने, “हामीले राजस्व राम्रो उठाएका छौँ । तर प्रतिफल आएको छैन । लगानी भएको छ, कर उठाएका छौँ तर उत्पादन बढेको छैन । यी समस्याको समाधान खोज्न जरुरी छ ।”

उनले राज्यको वैदेशिक ऋण बढिरहेको र निजी क्षेत्रले लिने ऋणको भार थपिए पनि प्रतिफल आउन नसक्दा अर्थतन्त्रमा ह्रास आएको टिप्पणी गरे । पछिल्लो समय सहकारी ठगीका कारण बचतकर्ता समस्यामा परिरहेको भन्दै उनले सरकारीको नियम कानुनभन्दा बाहिर गएर खर्च गर्ने व्याक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आवश्यक रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !