१७ असार २०८१, सोमबार

गृहमन्त्रीले लगाएको आरोप सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ : गगन थापा


गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सदनमा लगाएको आरोप सदनको रेकर्डबाट नहटाए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग हिसाबकिताब गर्ने चेतावनी दिएका छन् ।

आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले गृहमन्त्री लामिछानेले पार्टीका नेताहरूलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ माग गरेका हुन् ।

थापाले गृहमन्त्री लामिछानेले लगाएका आरोपहरूको अपनत्व प्रधानमन्त्रीले नै लिनुपर्ने बताएका हुन् । उनले सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभाबी बोलेकोमा आपत्ति समेत प्रकट गरे ।

थापाले सत्तासँग लड्दा घाउ कसरी लाग्छ आफूलाई राम्ररी थाहा भएको बताए । उनले विगतमा कयौँ पटक सत्तासँग लडेर आएको समेत बताए । विषयवस्तु बराल्नका लागि सूचना बेच्ने व्यक्ति सदनमा छ भनेको विषयमा हिसाबकिताब माग्ने बताए ।

उनले सहकारीका बचतकर्ताले आफ्नो रकम फिर्ता पाउनुपर्ने उल्लेख गरे । सहकारीपीडितको बचत रकम फिर्ता हुनुपर्ने बताएका छन् ।

यही जेठ १५ गते बनेको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सङ्कटमा परेका सहकारीका विषयमा अध्ययन गर्नुपर्ने र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन गर्नुपर्ने सांसद थापाले सुझाव दिए ।

“यहाँ बहुसङ्ख्यक सहकारीले राम्रो काम गरिरहेका छन्, केही सहकारीले ठगी गरिरहेका छन् । राम्रो काम गर्नेलाई प्रोत्साहन र ठगी गर्नेलाई समितिले कारबाहीको दायरामा ल्याउन सकोस्”, उनले भने, “सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै आन्दोलनरत छन् । उनीहरुलाई संसदीय छानबिन समितिले न्याय दिनुपर्छ ।”

गोरखा मिडियाबाट सहकारीको रकम हिनामिना भएको विषय उठिरहेको उल्लेख गर्दै सांसद थापाले यस विषयमा छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न माग गरे । जिम्मेवार भएर आएमा सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले विधायन संशोधन गर्न समेत कांग्रेसले सहयोग गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !