१७ असार २०८१, सोमबार

प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल


प्रतिनिधिसभाको बैठक

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने कार्यतालिका छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताए । कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने उनको भनाइ छ ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे । महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।

सांसद ईश्वरीदेवी न्यौपानेले संसद् भवनमा आमनागरिकको सहज प्रवेशका लागि व्यवस्था गरिनुपर्ने बताए । सांसदहरु संसद्मा मर्यादित पोसाकमा उपस्थित हुनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि पनि उहाँले सभामुखमार्फत माग राखे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !