१४ असार २०८१, शुक्रबार

ट्राफिक नियम पालना नगर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरूद्ध सर्वोच्चमा रिट


सर्वोच्च अदालत

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने तर ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयम् सेवकका रुपमा उनीहरुको साटो सडकमा सघाउनुपर्ने गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाएको भन्दै सर्वोच्चमा रिट परेको हो । मापसेसहित ट्राफिक नियम उल्लंघन गरेकालाई स्वयंसेवकका रूपमा सडकमा उतार्ने कार्यले सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर हनन् भएको भन्दै कारबाहीमा परेकाहरूले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

रिट दायर गर्नेमा बझाङका २२ वर्षीय कृष्ण विक, स्याङ्जा हरिनासका २२ वर्षीय आकाश भट्ट, ललितपुर गोदावरीका २२ वर्षीय उज्जव माली, पर्साका २१ वर्षीय इमामुल हकलगायत ७ जनाले प्रहरीको उक्त कार्यले नागरिकहरूको सम्मानपूर्व बाँच्न पाउने हक, हिँडडुल गर्न पाउने हक हनन् भएको भन्दै शुक्रबार सर्वोच्चमा रिट दिएका हुन् ।

रिटमा गृहमन्त्री रवि लामिछाने, ट्राफिक प्रहरी, महाशाखा र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ । रिटमा कानुनले नदिएको सजाय गृहमन्त्रीको आदेशमा भइरहेको भन्दै जुन कदम कानुनी राज्यको खिलाफमा रहेको उल्लेख छ ।

आफ्नो देशको परिधिभित्र स्वतन्त्रतापूर्वक शिर ठाडो, छाती चौडा गरी स्वन्त्रता पूर्वक हिँड्न र सम्मान पूर्वक बाँच्नु पाउनुपर्ने उनीहरूको रिटमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने, मापसे गर्नेले स्वयं सेवकका रुपमा काम गर्नुपर्ने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !