१७ असार २०८१, सोमबार

नेपाल देउवालाई भेट्न बूढानीलकण्ठ गएपछि खनाल पुगे प्रचण्डलाई भेट्न बालुवाटार


प्रचण्ड र झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच आज बिहान ९ बजेदेखि करिब ४५ मिनेटसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

यसअघि हिजो बुधबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सांसद मेटमणि चौधरी कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवाको निजी निवास बूढानीलकण्ठ पुगेका थिए । बूढानीलकण्ठमा सभापति देउवा, अध्यक्ष नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो ।

सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपाल हिजो प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाको निवास बूढानीलकण्ठमा विपक्षी दलको बैठकमा सहभागी भएपछि राजनीतिक वृत्तका चासोका साथ हेरिएको छ ।

प्रचण्ड नेतृत्वको केन्द्र सरकारमा सहभागी एकीकृत समाजवादीभित्र सरकार छाड्ने कि नछाड्ने भन्नेमा मतभेद रहँदै आएको छ । अध्यक्ष नेपालले सरकार सञ्चालनका विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आफूसँग कुनै छलफल नगर्ने गरेको भन्दै गुनासो गर्दै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !