६ असार २०८१, बिहिबार

जनताको जीवनस्तर परिवर्तन नभए राजनीतिक परिवर्तन संस्थागत हुँदैन : मन्त्री श्रेष्ठ


गंगानारायण श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन नभएमा राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने बताएका छन् ।

मंगलबार बागमती प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष परिवर्तन नआएसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन नसक्ने बताएका हुन् । उनले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

बागमती गणतन्त्र दिवस

मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ गर्न संविधानको सफल कार्यान्वयन गर्नु आवश्यक रहेको बताए । उनले प्रणालीगत र संरचनागत सुधार गर्दै आवश्यक ऐन, कानुनको निर्माण, निर्माण गरिएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र पुराना ऐन, कानुनको समयानुकुल परिमार्जन गर्नुपर्ने बताए । उनले संविधानमा व्यवस्था भए अनुसार संघीय सरकारले प्रदेश सरकारलाई अधिकारहरू यथाशीघ्र हस्तान्तरण गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको जगमा टेकेर तीव्र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताए । उनले सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिए ।

बागमती गणतन्त्र दिवस

गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मकवानपुरका ६५ जना सहिद परिवारलाई सम्मान गरेको छ । आगामी दिनमा प्रदेशभरिका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरिने मन्त्री श्रेष्ठले जानकारी दिए । त्यसैगरी मन्त्रालयले विभिन्न विधामा पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु