११ असार २०८१, मंगलबार

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै


कार्यदलको बैठक

काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक आज बस्दै छ ।

कार्यदलको बैठक सिंहदरवारस्थित कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा बिहान ९ बजे सुरु हुनेछ । यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन ।

आइतबार बिहानैदेखि बसेको कार्यदलको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन टुंगिएको थियो । कांग्रेसले छानबिन समिति बनाउँदा त्यसको कार्यादेशमा गृहमन्त्री लामिछानेलाई पनि छानबिनको दायरामा ल्याउनैपर्ने अडान कायमै राखेको छ ।

तर सत्तापक्षले अहिले नाम उल्लेख गरिएका सहकारीको नाम राखेर जान सकिने तर व्यक्ति केन्द्रित बनाउन नहुने अडान राखेपछि बैठक स्थगित गरिएको थियो । रास्वपाले गृहमन्त्री लामिछाने अहिले नै दोषी छ भन्ने भाषाको ड्राफ्ट कांग्रेसले ल्याएकाले स्वीकार गर्न नसकिने बताएको छ ।

नेकपा एमालेका नेता एवं कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !