६ पुस २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक अपराह्न ४:३० बजेसम्मका लागि स्थगित


प्रतिनिधिसभा बैठक

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न ४:३० बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले विशेष कारणबस तोकिएको समयमा बैठक बस्न नसकेपछि समय परिवर्तन गरिएको जानकारी दिए । यसअघि आज बिहान ११ बजे बस्नेगरी तय भएको प्रतिनिधिसभाको बैठक आजै दिउँसो २ बजेका लागि सारिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको सहकारीको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा दलहरू सहमत भए पनि समितिको कार्यादेश टुङ्गो लाग्न सकेको छैन ।

छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच अहिले पनि छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लागेर छानबिन समिति बनेपछि संसद्का गतिविधि सहजरुपमा अघि बढ्ने देखिन्छ ।

शनिबार राति बसेको बैठकमा सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी संस्थाको सम्पत्ति हिनामिना भएका विषयमा संसदीय छानबिन समिति गठन गर्ने सहमत भएका थिए ।

यद्यपि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आजको प्रतिनिधिसभाको बैठकमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !