काठमाडौँ । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति गठन सम्बन्धी कार्यदलको टीओआरमा सहमति नभएसम्म बैठक नचलाउन सभामुख देवराज घिमिरेलाई विपक्षी दलले आग्रह गरेको हो ।
विपक्षी दलको बैठकपछि निर्णय सुनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही सभामुख घिमिरेको कार्यकक्षमा आएको र कार्यदलमा सहमति गर्न सहयोग मागेपछि नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखक सिंहदरवारतिर लागेको सभामुखको सचिवालयले जनाएको छ ।
यद्यपि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई आजको प्रतिनिधिसभाको बैठकमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । संसद अवरोध गरेर गृहमन्त्रीलाई संसदमा बोल्नै नदिएर जनताप्रति राजनीतिक दलप्रतिको जनआस्था घटिरहेको परिप्रेक्ष्यलाई मध्यनजर गरेर विपक्षी दलहरुले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएर केही लचिलो देखिएका छन् ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आज ११ बजे बस्ने भनिएको बैठक अझसम्म बस्न नसकी तत्कालका लागि अनिश्चित देखिएको छ । सत्ता पक्ष र प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा शुक्रबार दिउँसो २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी आइतबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबार जारी रहेको छ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि हिजो सहमत भएका थिए ।