१५ असार २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने


प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी जेठ ७ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको सभामुखको सचिवालयले जनाएको छ ।

विश्वासको मत लिनेबारे प्रधानमन्त्री प्रचण्डले सभामुख देवराज घिमिरेलाई हिजो बिहीबार साँझ जानकारी गराइसकेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संघीय संसद सचिवालयमा पत्र पनि लेखेर प्रतिनिधिसभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन अनुरोध गरेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल गत ३१ गते सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

जसपा नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !