काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आज बैठक बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने पहिलो र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने दोस्रो सम्भावित कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने तेस्रो र प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने चौथो सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते मङ्गलवार गरेको सम्बोधनको लागि प्रतिनिधिसभाको तर्फबाट धन्यवाद ज्ञापन गर्ने पाँचौं सम्भावित कार्यसूची रहेको छ ।
यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने छैटौं र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने सातौं सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने आठौँ र उद्योग मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने नवौं सम्भावित कार्यसूची रहेको छ ।