१२ आश्विन २०८१, शनिबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिंदै


दीर्घबहादुर सोडारी

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिंदै छन् । आज बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने भएका हुन् ।

यसअघि नेकपा (एमाले) ले विश्वासको मत दिनेबारे निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो । अहिले भने एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने भएको छ ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले जानकारी दिए । विश्वासको मत दिए पनि एमाले तत्काल प्रदेश सरकार सहभागी नहुने उनले बताए ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता एवं मुख्यमन्त्री सोडारी गत वैशाख ६ गते प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिना जेठ ५ गतेभित्र विश्वासको मत लिइ सक्नुपर्छ ।

सत्तासाझेदार एमालेले तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बोलाएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्य र स्वतन्त्र डा तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक एक सदस्य छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !