२ मंसिर २०८१, आइतबार

गण्डकी सरकारविरुद्ध कांग्रेस पुग्यो सर्वाेच्च अदालत


सर्वोच्च अदालत

काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ । कांग्रेस गण्डकी प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी गरेको घोषणाविरुद्ध कांग्रेसले सर्वोच्चमा रिट दायर गरेको हो ।

कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री अधिकारीले विश्वासको मत नै नपाएको अवस्थामा कपटपूर्ण ढंगले विश्वासको मत पाएको भनी घोषणा गरेको भन्दै सोलाई बदर गर्न माग गरेका हुन् ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेकाे प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेको हो ।

नेपालको संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिएतापनि सभामुख धितालले आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेविरुद्ध कांग्रेस अदालत पुगेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !