१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीद्वारा दाबी पेस


दीर्घ सोडारीद्वारा दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् । सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका सोडारीले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित मुख्यमन्त्रीमा आज बिहिबार अपरान्ह दाबी पेस गरेका हुन् ।

अन्तत: सुदूरपश्चिममा एमालेले एकीकृत समाजवादीका सोडारीलाई समर्थन गरेको हो । आज बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थन गरेको पत्र दिएका हुन् ।

सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन् ।

यसअघि गत आइतबार काँग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले र माओवादी केन्द्रको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेतापनि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !