१८ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीको पनि दाबी पेश


कैलाश चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । नाउपाका कैलाशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशीको समर्थन रहेको छ ।

केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतवार मुख्यमन्त्रीको दाबी पेश गरेका हुन् । बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो।

यस्तै सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपाका लक्ष्मणकिशोर चौधरीले दाबी प्रस्तुत गरेका छन् । नाउपाका चार जना प्रदेश सांसदसहित चौधरीले कांग्रेससहितका सांसदको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

नेपाली कांग्रेसका १८ जना, नाउपाका चार जना, नेकपा (एकीकृत समाजवादी)का चार जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जनासहित २७ सांसदको हस्ताक्षर बुझाएर उनले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !