१२ श्रावण २०८१, शनिबार

गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर


सुरेन्द्रराज पाण्डे

काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्धको रिट दायर भएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सभामुख कृष्णप्रसाद धितालसहितको हस्ताक्षरमा बहुमत देखाएर गण्डकी प्रदेशसभा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी हिजो सोमबार मुख्यमन्त्री नियुक्त भएपछि पाण्डेले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टको ध्यानाकर्षण समेत गराएका थिए । उक्त रिटमा सर्वोच्चले बुधबारलाई पेसी तोेकेको छ ।

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख धिताल, मुख्यमन्त्री अधिकारीसमेतलाई विपक्षी बनाएर रिट दायर भएको हो । मुख्यमन्त्रीमा अधिकारीको नियुक्त असंवैधानिक दाबीसहित बदर गर्न माग गरिएको छ ।

भोलि प्रारम्भिक सुनुवाइ भएपछि अन्तरिम आदेश जारी भएमा गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्नेछ । अन्तरिम आदेश नभएमा भने अन्तिम आदेश नहुँदासम्म गण्डकीमा नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी नेतृत्वको सरकार कायम रहनेछ ।

रिटमा अन्तरिम आदेश माग्दै संविधान र कानुनविपरीत भएको सरकार गठनको प्रक्रिया रोक्न माग गरिएको छ । रिटमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफैँले संविधानबमोजिम दिएको पत्रविपरीत कार्य गरेको पनि जिकिर गरिएको छ ।

संविधानअनुरूप गरिएको ध्यानाकर्षण समेत कुल्चिएर प्रदेश प्रमुखले असंवैधानिक काम गरेको उनको दाबी छ । पाण्डेले कोसी प्रदेशको नजिर देखाउँदै आफूलाई मुख्यमन्त्रीमा निरन्तर दिन पनि माग गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !