१२ आश्विन २०८१, शनिबार

राप्रपाको जुलुसमा प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार


राप्रपाको जुलुसमा प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । राप्रपाका प्रदर्शनकारी निषेधित क्षेत्रभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोरा प्रहार गरेको हो ।

प्रहरी र प्रदर्शनकारीबीच काठमाडौँको भद्रकालीमा झडप भएको हो । भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अहिलेसम्म दुई सेल अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो । राप्रपाले आज काठमाडौँमा गरेको प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार बढी प्रहरी परिचालन गरेको छ ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशत्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका विशेष प्रहरीको टोली परिचालन गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । अहिले काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छभने सहरका विभिन्न ठाउँमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन भएका छन् ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा आज भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गर्ने जनाएको छ । उक्त प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत नागरिक काठमाडौँमा आएका बताइएको छ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौँ केन्द्रित जनप्रदर्शनको आयोजना गरिएको सो पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !