२६ बैशाख २०८१, बुधबार

उम्मेद्वार टुंगो लगाउन कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै


कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्ने भएको हो ।

यसअघि हिजो बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा रहेका छन् ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को मतभेद देखिएको छ । इलाम-२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच कसलाई बनाउने भन्नेमा नेतृत्व विभाजित बन्दा कांग्रेसलाई उमेद्वार टुंगो लगाउन सकस भएको हो ।

सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने नेता शेखर कोइरालापक्षले आचार्यको नाममा अडान लिएको छ । यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहबीच कसलाई बनाउने भन्नेमा नेताहरुबीच विवाद छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !