१२ असार २०८१, बुधबार

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त


राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त गरिएको छ । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको हो ।

आज बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यस्तै सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।

त्यस्तै नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाका सात र नेपाली तीन जनालाई जुगल हिमाल आरोहणका लागि आवश्यक दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल–१ र जुगल–२ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !