१२ असार २०८१, बुधबार

सामाजिक रुपान्तरणमा मधेसी आयोगले भूमिका महत्वपूर्ण : उपराष्ट्रपति यादव


रामसहाय प्रसाद यादव फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मधेसी आयोगले मधेसी समुदायको सामाजिक, शैक्षिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मधेसी आयोगको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भने, “नेपालमा उल्लेख्य जनसङ्ख्या रहेको मधेसी समुदायको इतिहास र पहिचान, हकहितको संरक्षण र संवद्र्धन तथा सशक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको मधेसी आयोगले बिना विषयान्तरको आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेसी जनअपेक्षाअनुरुप सक्रियता बढाउन जरुरी छ । आयोगले यस वार्षिकोत्सवलाई विगतमा गरेका काम र गतिविधिहरुको समीक्षा गर्ने अवसरका रुपमा लिँदै आफूलाई परिष्कृत र परिमार्जित गर्न आवश्यक छ ।”

उनले मधेसी समुदायका लागि आयोगले सचेतना र सशक्तीकरण कार्यक्रमका साथै मधेसी समुदायको हकहित संरक्षण गर्दै मधेस र मधेसीको इतिहास तथा मधेस जनविद्रोहका उपलब्धिलाई दस्ताबेजीकरण र मधेसीको अधिकारको पृष्ठपोषण गर्नमा क्रियाशील हुनुपर्छ भने ।

“मधेसमा विद्यमान बेथितिहरुप्रति आयोगको ध्यानाकर्षणले मात्र अब पुग्दैन । उसको क्षेत्राधिकारले निर्धारण गरेका विषयमा संवैधानिक व्यवस्थाअनुसार सशक्त रुपमा आफ्नो उपस्थिति दर्ज गराउँदै अघि बढ्न पनि जरुरी छ”, उनले भने, “विगतमा केही संवैधानिक आयोग र मधेसी आयोगको क्षेत्राधिकार परस्पर बाझिएको जस्तो देखियो । खासगरी मधेसी समुदायको जाति वा थर सूचीकरणमा देखिएको विरोधाभाषपूर्ण अवस्थाहरुलाई कानुनी व्यवस्थाअनुसार ‘ओभरल्याप’ नहुने गरी अघि बढ्न आवश्यक छ ।”

उपराष्ट्रपतिले संवैधानिक आयोगहरुबीच परस्पर बाझिने कानुनी क्षेत्राधिकारलाई संशोधन गर्न जरुरी रहेको बताए । उनले मधेसी आयोगका दस्तावेजहरु कुनै दल वा व्यक्ति केन्द्रित भन्दा पनि सिङ्गो देश र मधेसी समुदाय केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“आयोग आरक्षणका सवालमा संविधानमा व्यवस्था भएअनुरुपको ‘क्लस्टर’ लाई आत्मसात् गर्दै विवादास्पद निर्णयहरु आफ्नो दस्तावेजमार्फत सार्वजनिक गर्नबाट जोगिनु पर्दछ,” उपराष्ट्रपति यादवले भने, “संविधानको मूल मर्मअनुसार बहुलता र समानतामा आधारित समतामूलक समाज तथा समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षणमा मधेसी आयोग कोसेढुङ्गा बन्ने गरी नेतृत्व लिन सक्नुपर्दछ ।” उनले आयोगमार्फत संविधान र कानुनको मर्मअनुसार मधेसी समुदायका सबै खाले समस्या समाधान गर्न आयोगले अभिभावकत्वको भूमिका निर्वाह सक्नुपर्ने सुझाव दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !