८ मंसिर २०८१, शनिबार

आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँ : उपप्रधानमन्त्री यादव


Upendra Yadav

१ असार, काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आयुर्वेदमार्फत नयाँ रोगको उपचार सम्भव बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रले आज राजधानीमा आयोजना गरेको नेपाल, भारत र चीनका विशेषज्ञसहित अन्तर्राष्ट्रिय गोष्ठीमा उहाँले भारत र चीनसँगको सहकार्यले मात्र आयुर्वेदबाट नयाँ रोगको प्रभावकारी उपचार गर्न सम्भव हुने बताउनुभयो ।

उपप्रधानमन्त्री यादवले भन्नुभयो, “आयुर्वेद परम्परा, संस्कृतिसँग जोडिएकाले यसको प्रवद्र्धन गर्दै नयाँ रोगको उपचार पनि आयुर्वेद पद्दतिबाट गर्न आधुनिक ज्ञान, प्रविधिको विकास गरिनुपर्छ ।”

उहाँले नीतिनिर्माण तहमा आयुर्वेदलाई महत्व नदिइएकाले अपेक्षित विकास र विस्तार हुन नसकेको बताउनुभयो ।

जडीबुटीको प्रचुर सम्भावनालाई उपयोग गर्दै आयुर्वेद उपचार पद्दतिको गुणस्तर बृद्धि गर्न सकेमा आधुनिक औषधि आयात गर्नुपर्ने अवस्थामा समेत कमी आउने मन्त्री यादवको भनाइ थियो ।

स्वास्थ्य सचिव पुष्पा चौधरीले सरकारले आयुर्वेदलाई सधैँ प्राथमिकतामा राखेको उल्लेख गर्दै देश संघीयतामा गइसकेकाले यसको अझ विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले आयुर्वेदको अनुसन्धानका लागि काम शुरु भइसकेको बताउनुभयो ।

हामीले विभिन्न विषयमा अनुसन्धान गर्न तयारी थालेका छौँ, यसका लागि दुई छिमेकी भारत, चीनका विशेषज्ञसहितको गोष्ठी आयोजना गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

नेशनल इन्स्टिच्युट अफ आयुर्वेद जयपुर भारतका निर्देशक प्राडा सञ्जीव शर्माले नेपाल आयुर्वेदको जननी भएको उल्लेख गर्दै आयुर्वेदको पाण्डुलिपिमा नेपालसँग भएको ज्ञान अरुसँग नभएको बताउनुभयो ।

“नेपाल र भारत वातावरणीय, सांस्कृतिक, भौगोलिक र जैविक विविधतामा समान छन्, हामीले आयुर्वेदको विकासका लागि आपसी सहकार्य गर्दै आएका छौँ, यसलाई अझ मजबुत बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

आयुर्वेद नेपालको पनि सम्पत्ति भएकाले शैक्षिक, प्राविधिकलगायतका क्षेत्रमा सहकार्य गर्न राजदूतावासमार्फत सहकार्य गर्न सके प्रभावकारी हुने प्राडा शर्माले बताउनुभयो ।

नेपाल, भारत र चीनका आयुर्वेदका विशेषज्ञसहितको गोष्ठीमा आयुर्वेदको विकासका लागि अनुसन्धान, आमबाथ, प्रविधि उपकरण विकासबारे छलफल हुने बताइएको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !