काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।
एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रियसभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने चेतावनी दिएपछि सत्ता साझेदार तीन दलका शीर्ष नेतावीच भेटवार्ता भएको हो ।
राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन सत्ता साझेदार प्रमुख तीन दलका शीर्ष नेतावीच भेटवार्ता भएको हो । एकीकृत समाजवादीको हिजो सोमबार बसेको संसदीय दलको बैठकले मागबारे सहमति गर्न मंगलबार ११ बजेसम्मको अल्टिमेटम दिएको थियो । आज ११ बजे राष्ट्रिय सभा अध्यक्षका लागि मतदान हुँदै छ ।
अध्यक्ष नेपालले अघिल्लो गठबन्धनमा एक वर्ष प्रधानमन्त्री पाउने सहमति समेत अलपत्र परेकाले नयाँ गठबन्धनमा पनि सोही अनुसार आफूले प्रधानमन्त्री पाउनुपर्ने माग अघि सरेका छन् । यद्यपि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच आगामी चार वर्ष आलोपालो दुई/दुई वर्षका प्रधानमन्त्री हुने सहमति भएको छ ।