काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा कांग्रेसको संसदीय दलको बैठक जारी रहेको हो ।
अप्रत्यासित रुपमा सत्ताबाट विमुख भएपछि पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोबारे छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि मुख्य सत्तारुढ दल कांग्रेस अब प्रमुख प्रतिपक्षी दलको भूमिकामा धकेलिएको छ । सत्ता समीकरण बदलिएपछि कांग्रेस सक्रिय भएको हो ।
आज बिहीबार सङ्घीय संसद्का दुवै सदनको बैठक बोलाइएको छ । संसद्को बैठकअघि कांग्रेसले अब प्रमुख प्रतिपक्षीको भूमिकामा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन बैठक बोलाएको बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको अबको रणनीतिका विषयमा छलफल र निर्देशन हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।