२३ भाद्र २०८१, आइतबार

मधेशवादी नेतासँग बुढानीलकण्ठमा देउवाको छलफल


शेरबहादुर देउवा र मधेसवादी नेताहरु

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र मधेश केन्द्रित दलहरू छलफलमा जुटेका छन् । काँग्रेस सभापति देउवाले आफ्नो निजी निवास बुढानीलकण्ठमा मधेशवादी नेतासँग छलफल जारी राखेका हुन् ।

गठबन्धन तोडेर नयाँ सत्ता गठबन्धन बनाएर सरकार बिस्तारको प्रयासमा रहेका प्रधानमन्त्री प्रचण्डको सरकार ढाल्न सक्रिय सभापति देउवाले मधेश केन्द्रित दलहरूसँग छलफलमा जुटेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी लगायतका नेताहरु छलफलमा रहेका छन् ।

उक्त बैठकमा कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा, नेता डा. शेखर कोइराला र नेता रमेश लेखक पनि सहभागी छन् । अहिले उनीहरुको वार्ता जारी रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएपछि धोका दिएको भनेर रन्थनिएका सभापति देउवा पनि अर्को नयाँ बैकल्पिक गठबन्धन बनाएर प्रचण्ड सरकार ढाल्न कम्मर कसेर लागेका हुन् ।

यता प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच छलफल गरेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई लिएर बालुवाटार छिरेका हुन् । आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न अध्यक्ष नेपाल, उपाध्यक्ष हमाल र महासचिव भूसाललाई जिम्मेवारी दिने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !