१३ आश्विन २०८१, आइतबार

गठबन्धनमा हलचल : प्रधानमन्त्री प्रचण्डले ओली र रविलाई बोलाए बालुवाटार


सिंहदरवारमा प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता फाइल फोटो

काठमाडौँ । सत्ता गठबन्धनमा हलचल आएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिंदै गर्दा सत्ता गठबन्धनमा गम्भीर समस्या देखिएर नेपालको राजनीतिले यूटन लिन सक्ने संकेतहरु देखिन थालेको छ ।

गठबन्धनले राष्ट्रियसभा अध्यक्षको साझा उम्मेद्वार छान्न नसकेर उत्पन्न विवाद र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नजिक भएपछि संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा नेपाली कांग्रेसले हलो अड्काउने रणनीति लिएपछि गठबन्धनमा गम्भीर समस्या देखिएको हो ।

एमालेका अध्यक्ष ओली आइतबार साँझ पार्टी महासचिव शंकर पोखरेललाई साथमा लिएरप्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन् ।

गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको हो । यसअघि आइतबार बिहान ओली र प्रचण्डवीच भेट भएको थियो । आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँग समेत छलफल गरेका छन् । राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिन नसकिने भन्दै माओवादीले एमालेसँग सहकार्यको हात अघि बढाएको हो ।

यसैगरी नेपाली काँग्रेसबाट परराष्ट्रमन्त्री बनेका एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फिनल्यान्ड भ्रमणमा नजान निर्देशन दिएपछि मन्त्री साउदले भ्रमण रद्द गरेका हुन् ।

यसअघि पनि तत्कालीन परराष्ट्रमन्त्री विमला पौडेलले पनि जेनेभा उड्नै लागेका बेला भ्रमण रद्द गरेकी थिइन् । त्यतिबेला पनि प्रचण्डले भ्रमण रद्द गर्न निर्देशन दिएलगत्तै एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !