९ आश्विन २०८१, बुधबार

प्रदेशबासीको जीवनस्तर सुधारमा सरकार प्रयत्नशील रहेको छ : मुख्यमन्त्री पाण्डे


सुरेन्द्रराज पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थापना दिवसकै अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको बताएका छन् ।

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपश्चात् प्रथमपटक प्रदेश सरकारको गठन भएको सम्झनास्वरूप प्रत्येक वर्ष फागुन ४ गतेलाई प्रदेश सरकारको स्थापना दिवसका रूपमा मनाउँदै आइएको सन्देशमा भनिएको छ ।

संविधानले कार्यजिम्मेवारी र जनताको अपेक्षालाई पूरा गर्ने क्रममा प्रदेश सरकारले संवैधानिक मूल्य, मान्यता एवं प्रचलित कानुनबमोजिम समन्वय, सहअस्तित्व र सहकारिताको सिद्धान्तलाई आत्मसात् गरी नागरिकसामु लोकतन्त्रका लाभांशहरुको समन्यायिक वितरण गरी सुशासनलाई स्थापित गर्न प्रयत्नशील रहेको उनले बताए ।

प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको उल्लेख गर्दै सन्देशमा गण्डकी प्रदेशको दोस्रो आवधिक योजनाले ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सम्मानित प्रदेशबासी’ सोच अगाडि बढाइएको भनिएको छ ।

“नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ”, मुख्यमन्त्रीले भनेका छन् । सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताका आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको उनले बताए ।

सरकारको सफलता र प्रभावकारिता बहुपात्रहरुको साझेदारीमा प्रमुखरुपले निर्भर रहने भएकाले छ वर्षसम्म सरकारले सञ्चालन गरेका कार्य र ती कार्यक्रमबाट प्राप्त गरेका उपलब्धिमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !